काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचनअघि दोस्रो राष्ट्रपति बहस हुन लागेको छ ।
यस बहसमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस आमने सामने हुनेछन् ।
डेमोक्रेटिक र रिपब्लिकन दुवै प्रमुख दलका उम्मेदवार कमला ह्यारिस र डोनाल्ड ट्रम्पबिच स्थानिय समयअनुसार मंगलबार राति नौ बजदेखीे प्रत्यक्ष बहस हुनेछ । बहस एबीसी न्यूजमार्फत प्रत्यक्ष प्रस्तुत गरिनेछ। राष्ट्रपति चुनावका लागि ट्रम्प र ह्यारिसको यो पहिलो टेलिभिजन बहस हो । यो बहस चुनावी दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार फिलाडेल्फियाको राष्ट्रिय संविधान केन्द्रमा हुने बहस ९० मिनेटको हुनेछ । ट्रम्प र ह्यारिसको यो पहिलो बहस भए पनि चुनावको लागि यो दोस्रो र अन्तिम बहस हो । यसअघि राष्ट्रपतिको पहिलो बहस जुलाइ १२ मा भएको थियो । जो बाइडेन र डोनाल्ड ट्रम्प पहिलो बहसमा आमनेसामने थिए।
अमेरिकामा राष्ट्रपति चुनावअघि उम्मेदवारहरूबीच महत्त्वपूर्ण विषयमा बहस गरिदैँ आएको छ । त्यसैको आधारमा मतदाताले उम्मेदवारहरुका बारेमा आफ्नो धारणा बनाउछन् ।
अमेरिकी इतिहासमा पहिलो राष्ट्रपति बहस, डेमोक्रेटिक पार्टीका जोन एफ केनेडी र रिपब्लिकन पार्टीका रिचर्ड निक्सन बीच भएको थियो। अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।



