काठमाडौं । आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्यो’ सार्वजनिक भएको छ ।
बिहीवार सार्वजनिके गीतमा चलचित्रका मुख्य अभिनेता विपिन कार्की, पुजा चन्द, बुद्धि तामाङ र जाहन्वी बस्नेत फिचर्ड छन् । गीतमा विपिन र पुजालाई जेष्ठ नागरिकको रुपमा देखाइएको छ । कपाल सेतै फुलेको यो जोडिको प्रेम भने तन्नेरी भन्दा कम छैन ।
निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘तेल भिसा’मा अभिनेता विपिन कार्कीको बृद्ध र जवानगरी दोहोरो भुमिका हेर्न पाइनेछ । चलचित्रमा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।


