काठमाडौं । सहकारी अपचलनमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि हिरासतमा दुर्व्यवहार भएको भन्ने आरोपको कास्की प्रहरीले खण्डन गरेको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेमाथि हिरासतमा दुर्व्यवहार गरिएको भन्ने कुराको खण्डन गरेको हो ।
रविलाई अदालतमा उपस्थित गराउने क्रममा प्रहरीले अपशब्द बोलेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको भन्ने कुरा सञ्चार माध्यमहरुमा आउको थियो जुनकुरा भ्रामक र झुटो रहेको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीले भ्रामक तथा कपोकल्पित विचार टिकटक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको, ‘‘रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिति २०८१/०७/०८ गते म्याद थप गर्न सम्मानित कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा नेपाल प्रहरीका कर्मचारीले सम्मानित इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्नेजस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू टिकटकलगायत सामाजिक सञ्जालहरूमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।"
प्रहरीले कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुरालाई सम्प्रेषण नगरी, सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार, सन्देश मात्र सम्प्रेषण गर्न अनुरोध गरेको छ ।




