काठमाडौं । यही मंसिर १५ देखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग(एनपिएल)को लागि विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट तीन खेलाडी छनोट गरेको छ ।
बिहीबार कोसी प्रदेशका पाँच जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका तीनजना उत्कृष्ट खेलाडीको नाम सार्वजनिक गरिएको हो ।
विराटनगर किंग्सले ‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको छ । अब अन्तिम चरणको छनोटबाट यी तीनमध्ये एकजनाले एनपीएलमा विराटनगर किंग्सको प्रतिनिधित्व गर्न पाउने छन् ।
विराटनगरको मुख्य प्रशिक्षकमा आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ ब्राइन रहेका छन् । विराटनगरको मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने छन् ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आठ टोलीको सहभागितामा यही मंसिर १५ देखि पुस ६ गतेसम्म एनपीएल हुँदैछ । विराटनगरले उद्घाटनकै दिन जनकपुर बोल्ट्ससँग पहिलो खेल खेल्नेछ ।



