काठमाडौं । कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले त्यहाँका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग भेटवार्ता गरेका छन् ।
भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
भेटमा सभामुख घिमिरेले नेपालको बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदाहरूलाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिए ।
भेटमा दुवै देशका नागरिकबीच आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको थियो । सो अवसरमा सभामुख घिमिरेले नेपाल भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणा दिए ।
सभामुख घिमिरेले आइतबार साँझ नै माथिल्लो सदन सिनेटका अध्यक्षसेनसँग भेट गरेका थिए । कम्बोडिया पिपल्स पार्टी मुख्यालयमा भएको भेटका क्रममा दुवै पक्षले दुई देशका विधायिकाबीच सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको थियो ।



