काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अव्यवस्थित शहरीकरण नेपालको चुनौतिको विषय बनेको बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्राकृतिक घटनाहरू मात्र नभइ पछिल्लो समय अव्यवस्थित शहरीकरण, अनियन्त्रित र अनियोजित पहाडी भेग र नदी किनारको अतिक्रमण निर्माण प्रविधिको कारणले पनि समस्या व्यहोरिरहेको बताएका हुन् ।
उनले नेपाल बारम्बार भूमकम्पीय प्रकोपको चपेटामा परेको उल्लेख गर्दै भारी वर्षा र भारी हिमाली भूगोलले बाढी र पहिरोको जोखिम बढाएको बताए ।
उनले भने,"हाम्रो देश र दक्षिण एशियाको यो क्षेत्र बारम्बार भूकम्पीय प्रकोपको चपेटामा परेको छ । त्यसमाथि, भारी वर्षा र भारी हिमाली भूगोलले यस क्षेत्रलाई पहिरो र बाढीको जोखिममा पारेको छ । यसबाहेक हालैका वर्षहरूमा ग्लोवल वार्मिङ र जलवायु परिवर्तनको प्रभावले हिमालयका हाम्रा ग्लेशियर तालहरूमा ठूलो परिवर्तन ल्याएको छ । पछिल्लो समय अव्यवस्थित शहरीकरण, अनियन्त्रित र अनियोजित पहाडी भेग र नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनि वास्तवमै सबैभन्दा बढी पीडित छौं ।"



