काठमाडौं । भोलिदेखी सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)का सबै फ्रेन्चाईज टिमका कप्तानहरु घोषणा भएका छन्।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा आयोजित कार्यक्रमबिच कप्तानहरु घोषणा गरिएको हो। सबै टिमले मार्की खेलाडीहरुलाई नै कप्तान बनाएका छन् भने जनकपुर बोल्ट्सले अनिल शाह कप्तान बनाएको छ ।
विराटनगर किंग्सको कप्तान सन्दीप लामिछाने, काठमाडु गुर्खाजको करण केसी, कर्णाली याक्सको सोमपाल कामी पोखरा एभेन्जर्सको कप्तान कुशल भुर्तेल, लुम्बिनी लायन्सको रोहित पौडेल,चितवन राइनोजको कुशल मल्ल, र सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरी रहेका छन्।
सबै कप्तानहरुले आफूहरु खेल्न पूर्णरुपमा तयार रहेको बताएका छन्। कार्यक्रममा बोल्दै लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टिमको तयारी राम्रो भएको बताउदै आइपीएलले भारतमा सहयोग गरेजस्तो एनपीएलले नेपाली क्रिकेटलाई सहयोग गर्ने बताए । उनले भने, "तयारी राम्रो भएको छ लुम्बिनीको, एनपीएल एकदम महत्वपूर्ण प्रतियोगितामा हो, आइपीएलले भारतमा सहयोग गरेजस्तो एनपीएलले नेपाली क्रिकेटलाई सहयोग गर्ने छ"।
त्यसैगरी काठमाडौंका कप्तान करण केसीले एक महिनाअघिदेखि घरेलु युवा खेलाडीहरूलाई प्रशिक्षणमा सहभागी गराएको कुरा उल्लेख गर्दै युवा खेलाडी र विदेशीको तालमेलले राम्रो हुने बताए । "विदेशी पनि सबै आइसकेका छन्, हामी एक महिनाअघि देखि घरेलु खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छौं । युवा खेलाडी र विदेशीको तालमेलले राम्रो हुनेछ भन्ने छ।"उनले भने ।
विराटनगरका कप्तान सन्दिप लामिछानेले सबैजना उत्साहित रहेको र टिम पनि सन्तुलित रहेको बताए। उनले अबको कम्तिमा पनि चार वर्षजति एनपीएलले कुन स्थान बनाउछ त्यही अनुसार नै अन्तर्राष्ट्रिय स्तरमा यो लिगको महत्त्व हुने बताए। यस्तै जनकपुर बोल्ट्सका कप्तान साहले आफ्नो क्षेत्रमा तयारीका लागि मैदान नभएका कारण काठमाडौंमै तयारी गरेको र भोलिको खेलका लागि आफूहरु पनि पूर्ण रुपमा तयारी अवस्थामा रहेको बताए।
त्यसैगरी चितवनका कुशल मल्लले तयारी राम्रो भएको र स्टार नेटवर्कमार्फत् विश्वभर प्रसारण हुने कुराले उत्साहित रहेको बताएका छन् भने पोखराका कप्तान कुशल भुर्तेलले भारतीय प्रशिक्षकबाट पोखरामा राम्रो तयारी भएको बताए ।
कर्णाली याक्सका कप्तान सोमपाल कामीले युवा नेपाली र अनुभवी विदेशी खेलाडीको समिश्रणले टिम बलियो भएको बताए । "हाम्रो टिममा युवा धेरै छन्, विदेशी पनि अनुभवी ल्याएका छौं । हामीले उहाँहरुबाट कति सिक्न सकिन्छ भन्ने कुरा हो’ उनले भने, ‘एनपीएलले धेरै युवाहरुलाई मौका दिएको छ । नेपालका लागि राम्रो खेलाडी पनि निस्कन्छन् भन्ने विश्वास ।"
सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले टिम राम्रो भएको र युवा र विदेशी खेलाडीहरु मिलेर सबैले राम्रो गर्ने कुराले उत्साहित रहेको बताए।
एनपीएलको उद्घाटन खेलमा शनिबार जनकपुर बोल्ट्स र विराटनगर किंग्स खेल्दै छन्।



