काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई पराजित गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६.१ ओभरमा ९२ रन बनाउँदै अलआउट भयो । विराटनगरका लागि बासिर अहमदले २४ र राजेश पुलामी मगरले १५ रन बनाए । क्रिश सोल र अनिल खरेलले क्रमशः ९ र १० रन जोडे ।
सुदूरपश्चिमका लागि स्कट कुग्गेलिजन र अविनाश बोहराले ३÷३ विकेट लिए ।
यसअघि सुदूरपश्चिमले २० ओभर खेलेर ७ विकेट गुमाउँदै १८२ रन बनाएको थियो । यो अहिलेसम्मकै उच्च स्कोर हो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५७ रन बनाए ।
अर्को खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुँदैछ ।



