काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ ।
बुधबार कीर्तिपुरको त्रिवि मैदानमा जारी दोस्रो खेलमा लुम्बिनीले २० ओवरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको हो । यो एनपीएलमा अहिलेसम्मकै उच्च स्कोर हो ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले २९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४६ रन बनाए भने टम मुर्सले ३०, अर्जुन साउद १७, आशुतोष घिरैया १५ र सन्दीप जोरा १२ रनमा आउट भए ।
विराटनगरका लागि इस्मत आलम, सन्दीप लामिछाने र राजेश पुलामीले १–१ विकेट लिए ।
लुम्बिनीको यो पहिलो खेल हो भने विराटनगरको तेस्रो खेल हो ।
विराटनगर आज पहिलो जितको खोजीमा छ । यसअघि विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स र दोस्रो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।



