काठमाडौं । भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेल नखेल्ने भएका छन् ।
कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेका अनुसार ११ तारिखदेखि अर्को प्रतियोगितामा सहभागी हुनुपर्ने भएकाले शिखर स्वदेश फर्किन लागेका हुन् ।
कर्णाली याक्सबाट एनपिएल खेली रहेका धवनलाई कम्तीमा ४ खेलका लागि टोलीमा अनुबन्ध गरेको थियो । ४ खेल खेलेसँगै उनी अब स्वदेश फर्किने भएका हुन् ।
उनले भने,‘उहाँको ११ तारिखपछि अर्को टुर्नामेन्ट रहेछ । उहाँ मार्की प्लेयर हुनुहुँदो रहेछ । हाम्रो गेम भोलि या पर्सि भएको भए उहाँ खेल्नुहुन्थ्यो, तर १० तारिखमा त उहाँ जानुपर्ने भएकाले आगामी खेल खेल्नुहुन्न’, ।
शिखरको ठाउँ अर्को खेलाडी लिने वा नलिने भन्ने विषयमा प्रशिक्षकले निर्णय लिने घिमिरेले बताए ।
एनपीएलमा ४ खेल खेलेका शिखरले १३६ रन बनाएका छन् । उनले विराटनगर किंग्सविरुद्ध ५, चितवन राइनोजविरुद्ध ४५, जनकपुर बोल्ट्सविरुद्ध १४ र काठमाडौं गुर्खाजविरुद्ध अविजित ७२ रन बनाएका थिए ।



