काठमाडौं । एसीसी यू–१९ महिला एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ ।
बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक कार्यक्रम आयोजना गरी टोलीको बिदाई गरेको हो । यू १९ महिला एसिया कप आगामी साता मलेसियामा डिसेम्बर १५ देखि सुरू हुँदैछ ।
क्यानले पुजा महतको कप्तानीमा यसअघि नै १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । नेपाली टिममा पुजा महतो ९कप्तान०, सोनी पाख्रिन ९उपकप्तान०, साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवा, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।
नेपाल, भारत र पाकिस्तान समूह बी मा छ । नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तानसँग र डिसेम्बर १७ मा भारतसँग खेल्नेछ । समूह ए मा आयोजक मलेसियासँगै श्रीलंका र बंगलादेश छन् ।दुवै समूहको शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् ।



