काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुदैँछ ।
शुक्रबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजे सुरु हुनेछ ।
यस अघिका ६ खेलमा हार ब्यहोरेको लुम्बिनी ‘प्लेअफ’ पुग्न नपाएर बाहिरिइसकेको छ । त्यसैले लुम्बिनीका लागि लिगको अन्तिम खेल हुनेछ । यसअघि ५ खेल खेलेको कर्णाली याक्सले ३ खेलमा जित हात पारिसकेको छ । ६ अंकसहित कर्णाली पाँचौं स्थानमा छ ।
शीर्ष चार टिम रहने ‘प्लेअफ’ मा यसअघि जनकपुर बोल्ट्सले स्थान बनाइसकेको छ ।
दोस्रो खेलमा चितवन राइनोज र विराटनगर किंग्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि सुरू हुनेछ । चितवनले आजको खेल जितेमा विराटनगर प्लेअफ दौडबाट बाहिरिनेछ भने विराटनगरले जितेमा प्लेअफमा जाने झिनो आशा बाँकी नै रहनेछ ।



