काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजलाई ५१ रनले हराउँदै विराटनगर किंग्स विजयी भएको छ ।
शुक्रबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी दोस्रो खेलमा १८२ रनको लक्ष्य पछाएको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको हो ।
चितवनका लागि अमर रौतेलाले ४२ रन बनाए भने सन्तोष कार्कीले २८ र रवि बोपाराले २० रन बनाए । कप्तान कुशल मल्लले २५ रन जोडे ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले २ तथा लोकेश बम, बसिर अहमद र सुवास भण्डारीले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको थियो ।
विराटनगरका लागि बासिर अहमदले ६८ रन बनाए भने ओपनर मार्टिन गप्टिलले ४५ रन जोडे । राजेश पुलामीमगरले ३३ रन बनाए ।
चितवनका लागि रिजन ढकालले दुई तथा कप्तान कुशल मल्ल, सोहेल तानबिर र बासिल अहमदले एकरएक विकेट लिएका छन् ।



