काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल)मा पोखरा एभेन्जर्समाथि सुदूरपश्चिम रोयल्सले शानदार जित निकालेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा पोखरालाई ५ रनले पराजित गर्दै सुदूरपश्चिमले जित निकालेको हो । जितसँगै १० अंक बनाएको सुदूरपश्चिम तालिकामा शीर्ष स्थानमा उक्लेको छ ।
१ सय ५४ रनको लक्ष्य पाएको पोखराले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन मात्रै बनाउन सक्यो ।
पोखराका लगि एन्ड्रिज गौसले ३६ रन बनाउँदा दिनेश खरेलले १५ र जेन मलिकले १० रन जोडे।
सुदूरपश्चिम स्कट क्रिस्टोफरले एक्लै पाँच विकेट लिए । हर्मित सिंहले ३ विकेट लिएर जितमा योगदान गरे ।
त्यसअघि सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।
सुदूरपश्चिमका लागि आरिफ शेखले ४२ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २० रन बनाए ।
ब्राण्डन म्याकमुलनले २३ रन जोडे भने विनोद भण्डारीले १४ र हर्मित सिंहले १३ रनको योगदान गरे ।
पोखरा एभेन्जर्सका लागि कुशल भूर्तेलले २ तथा रेमन रेफर, सागर ढकाल र माइकल लिस्कले १–१ विकेट लिए ।



