काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनाएको हो ।
कर्णालीका लागि जयकिशन कोसावाला र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले । जयकिशनले ५३ रन बनाउँदा बोसिस्टो ५२ रन बनाएर आउट भए । च्याडविक वाल्टनले भने अविजित ४६ रन बनाए ।
चितवनका लागि भने सोहेल तनवीरले २ तथा कुशल मल्ल, शरद भेषवाकर र रवि बोपाराले १–१ विकेट लिए ।
यस खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान पक्का गर्नेछ भने पराजित टिम एनपीएलको यात्राबाट बाहिरिनेछ ।



