काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायरमा जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायर खेलमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो ।
अब जनकपुरले बिहीबार हुने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ ।
१४० रनको लक्ष्य पछाउको सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।
सुदूरपश्चिमको लागि ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ५८ रन बनाउँदा अर्का ओपनर सैफ जैबले ३२ र ब्राण्डन म्याकमुलनले २५ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे ।
जनकपुरका लागि किशोर महतो र ललित राजवंशीले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।
जनकपुरका लागि जेम्स निशमले ४५ रन बनाए भने शुभ कंसाकारले २६, अरनिको यादवले ११, लाहिरु मिलान्थाले १२, हर्ष थाकेरले १२ र कप्तान आसिफ शेखले ११ रन बनाए । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले तीन तथा सैफ जैबले २ स्कट कुग्गेलिजन र अविनाश बोहराले एकरएक विकेट लिए ।



