काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै छ ।
बिहिबार त्रिवि क्रिकेट मैदानमा हुने खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । खेल दिउँसो साढे १२ बजेबाट शुरू हुनेछ ।
यसअघि हिजो भएको पहिलो क्वालिफायरमा जनकपुरलाई आठ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसकेको छ ।
जनकपुरले हारका बावजुद आज दोस्रो क्वालिफायर खेल्दै छ भने कर्णालीले एलिमिनेटरमा चितवन राईनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
एलिमिनेटरबाटै बाहिरिएको चितवनले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । एनपीएल उपाधि विजेताले एक करोड १० लाख तथा उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो स्थानमा रहने टोलीले २५ लाख प्राप्त गर्नेछन् ।



