काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ ।
बिहिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा कर्णालीलाई २ विकेटले हराउँदै जनकपुर फाइनल प्रवेश गरेको हो ।
११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको हो । अब शनिबार हुने फाइनलमा जनकपुर र सुदूरपश्चिम रोयल्सबीच उपाधिका लागि भिड्ने छन् ।
जनकपुरका लागि जेम्स निशमले ४५ रन बनाए भने हर्ष थाकेरले १७ र आकाश त्रिपाठीले १३ रन जोडे। शेर मल्ल र मायम यादवले क्रमशस् १६ र १४ रन बनाए ।
कर्णालीका लागि विपिन शर्माले ३ तथा कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र जिशान मक्सुदले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको थियो।
कर्णालीको लागि गुल्शन झाले २५ रन बनाउँदा देव खनालले २४ रन जोडे । विलियम बोसिस्टोले १४, जिशान मक्सुदले १२ र च्याडविक वाल्टनले ११ रन बनाए । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
जनकपुरका लागि ललित राजवंशी र मोहम्मद मोहसिनले २–२ विकेट लिए भने हर्ष थाकेर, जेम्स निशाम र शेर मल्लले १–१ विकेट लिए ।



