काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी पीडितलाई राहत दिने र दोषीलाई कानुनको दायरामा ल्याउने काम भइरहेको बताएका छन् ।
बिहिबार चितवन विमानस्थलमा पत्रकारसंग कुराकानि गर्दै नागरिकको बचतमा बद्मासी गर्ने दोषीहरूले कुनै हालमा उन्मुक्ति नपाउने बताए । उनले मन्त्रिपरिषद्बाटै सहकारीको विषय हल गर्न अध्यादेश ल्याउने निर्णय भइसकेको उल्लेख गरे ।
उनले भने,‘दोषीहरूलाई कारवाही र पीडितहरूको बचत फिर्ता गर्नेगरी सिस्टम बनाएर काम भइरहेको छ,’ ।‘यो सरकारले यसअघिका सरकारले गर्न नसकेका र बाँकी रहेका कामहरूमा सुधार गर्न काम अघि बढाइरहेको छ ।’
कानुनभन्दा माथि कोही पनि छैन भन्ने कुरा अहिले स्थापित भएको पनि उनले बताए । उनले आफूहरू सरकारमा आएपछि विधिको शासनअनुसार देश अघि बढिरहेको भन्दै गल्ती गर्ने कसैले पनि उन्मुक्ति नपाउने दाबी गरे।
उनले भने,‘रुल अफ ल सबैलाई बराबरी लागू हुन्छ भन्ने कुरालाई सरकारले अघि बढाएको छ,’ । ‘संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितको सरकार बनेपछि विकासको कामले पनि गति लिएको छ । यसअघि रोकिएका कामहरुले पनि गति पाएका छन् ’



