काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक विकास मात्रै नभएको बताएका छन् ।
मंगलबार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा काठमाडौमा आयोजित छैठौं श्रम संसदलाई सम्बोधन गर्दै उनले मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्र नभइ यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको बताएका हुन् । उनले मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता भएको बताए ।
उनले भने,‘श्रम र पूँजीलाई संगै अघि बढाउन आवश्यक छ । त्यसैले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता हो भन्ने मलाई लाग्दछ ।’
आफ्नो राजनीतिक जीवनमा देशको सामाजिक र आर्थिक रुपान्तरणका लागि कृषक, श्रमिक तथा मजदुरको सम्मानको विषयलाई आफूले सदैव प्राथमिकता दिएको उनले स्मरण गरे ।
राष्ट्रपति पौडेलले अहिले भौतिक विकासका रुपमा भएको प्रकृतिको दोहन र मानवीयताप्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेको पनि बताए ।



