काठमाडौं । त्रिभुवन आर्मी क्लबविरुद्धको पहिलो इनिङमा बागमती प्रदेश २ सय रनमा अलआउट भएको छ ।
जारी दुईदिवसीय जय ट्रफी एलिट कपमा बागमती ५० ओभरमा २ सय रनमा अलआउट भएको हो । योसँगै आर्मीले ७६ रनको अग्रता पाएको छ ।
पहिलो इनिङमा बागमतीका लागि नन्दन यादवले अर्धशतकीय पारी खेले । उनले ८० बलमा दुई छक्का र एक चौकासहित ५१ रन बनाए ।
यस्तै, शुभ कंशाकारले ३४ रन बनाउँदा कप्तान सन्दीप लामिछानेले १० रन जोडे । उत्तम थापाले २८, रित गौतमले २१, विपिन आचार्यले २०, प्रतिश जिसी र आशुतोष घिरैयाले ११/११ रन बनाए ।
आर्मीका लागि आकाश चन्दले तीन, सोमपाल कामी, शाहब आलम र पवन कार्कीले दुई/दुई विकेट लिए ।
त्यसअघि जनकपुरस्थित रामजानकी मल्टिप्रपोज ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो इनिङमा इनिङमा ५ विकेट गुमाउँदै २७६ रन बनाएको थियो ।
उसका लागि इमरान शेख र बसिर अहमदले अर्धशतकीय इनिङ खेले । इमरानले ७२ तथा बसिरले ५३ रनको पारी खेलेका हुन् । तृतराज दासले ४४, कुशल मल्लले अविजित ३५ र भीम सार्कीले ३२ रन जोडे ।
बागमतीका लागि विपिन आचार्यले तीन र कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।



