काठमाडौं । जय ट्रफी एलिट कपमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ८ विकेटले हराउँदै फाइनलमा पुगेको छ ।
अन्तिम खेलमा मधेश प्रदेशले दिएको २८ रनको झिनो लक्ष्यलाई आर्मीले ६ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो ।
आर्मीका लागि इमरान शेख ८ रनमा र बासिर अहमदले ४ रनमा अविजित रहे । त्रित राज दासले १३ र सन्तोष कार्कीले ४ रन बनाए ।
मधेशका लागि प्रदिप पासवानले २ विकेट लिए।
पहिले ब्याटिङ गर्दै आर्मीले ९ विकेटको क्षतिमा २२५ रन बनाएर पारी समाप्तिको घोषणा गरे पनि मधेश प्रदेश पहिलो इनिङमा १०२ रनमै अलाउट भएर फलोअनमा परेको थियो । जारी खेलमा १२३ रनले पछि परेको मधेशले दोस्रो इनिङमा भने १५० रनमा अलआउट भयो ।
मधेशका लागि मयन यादवले सर्वाधिक ४९ रन जोडे भने कप्तान हरिशंकर शाहले २५रन बनाए । अभिषेक तिवारी १९, निरज यादव १७ तथा हिमाशुं दत्त ११ रनमा आउट भए ।
मधेशले दोस्रो इनिङमा आर्मीसँग २७ रनको अग्रता लिएको थियो । मधेशले २७ रनको अग्रता लिएसँगै जितका लागि आर्मीले २८ रनको लक्ष्य पाएको थियो । उक्त २८ रनको लक्ष्य आर्मीले २ विकेट गुमाएर पूरा गरेको हो ।



