शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसको नेपाल स्टार्टअप र एसएमइ सम्मेलनको तयारी अन्तिम चरणमा

एक्सप्रेस पाना
माघ १२, २०८१ शनिबार
  • 270
    SHARES
  • कांग्रेसको नेपाल स्टार्टअप र एसएमइ सम्मेलनको तयारी अन्तिम चरणमा

    काठमाडौं । नेपाली कांग्रेस पार्टी उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले यही माघ १६ र १७ गते आयोजना गर्न लागेको ‘नेपाल स्टार्टअप र एसएम्इ सम्मेलन २०२५’ को तयारी अन्तिम चरणमा रहेको जनाएको छ । 

    images

    शनिबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा भर्ने र देशको आर्थिक रुपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले माघ १६ र १७ गते ललितपुरस्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा ‘नेपाल स्टार्टअप र एएम्इ सम्मेलन २०२५’ आयोजना गर्न लागेको जानकारी गराइएको हो । 

    दुई दिने सम्मेलनको औपचारिक उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन् । कांग्रेस केन्द्रीय सदस्य एवम विभागकी प्रमुख उर्मिला थपलियाले उद्यमशीलता क्षेत्रमा नयाँ उर्जा भर्ने र देशको आर्थिक रुपमान्तरणमा योगदान दिनका लागि एउटै छानामुनि कार्यक्रम गर्न लागेको जानकारी दिइन् ।

    images

     ‘साना एवम मझौला उद्यमीहरुको साझा नीतिगत समस्या, उत्पादनको बजारीकरण र प्रवद्र्धन साथै कांग्रेसले उद्यमीहरुका मुद्दामा अब गर्नुपर्ने कामहरु के के हुन भनेर निष्कर्ष निकाल्न सम्मेलनको आयोजना गरिएको हो ।’

    उनले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएको भन्ने गुनासोलाई सम्बोधन गर्न सम्मेलन प्रभावकारी हुने दावी गरिन् । 

    उनले भनिन्,‘डिजिटल अर्थतन्त्रको विकास, महिला एवम युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्न साथै पार्टीलाई युवामैत्री र उद्यमशीलतामा अग्रसर बनाउन सम्मेलन उपयोगी हुनेछ ।’

    पत्रकार सम्मेलनमा पार्टी प्रचार विभागका गोपाल झाले सम्मेलनले गाउँ गाउँका उद्यमीहरुलाई पार्टीसँग जोड्न मद्दत पुग्ने बताए । सम्मेलनमा उत्पादित वस्तुहरुको प्रदर्शनी एवम विभिन्न विषयबस्तुमाथि प्यानल डिस्कस हुने विभागमा सचिव खगेन्द्र आचार्यले जानकारी दिए । 

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद, स्थानीय तथा प्रदेश सरकारका नेतृत्व, उद्योग र उद्यमशीलता क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तिहरूको गरिमामय उपस्थिति रहनेछ । सम्मेलनमा ८० भन्दा बढी स्टार्टअप र एसएमइहरुको प्रदर्शनीः नवप्रवर्तन र सेवाहरूको अवलोकन गर्दै सहभागीहरूले नयाँ व्यवसायिक सम्भावनाहरू पत्ता लगाउने अपेक्षा गरिएको छ ।

    थिमेटिक प्यानल छलफलहरूमा नवप्रवर्तन र उद्यमशीलता, कृषि उद्यमशीलता, सूचना प्रविधि विकास, महिला उद्यमशीलता, र प्रेरणादायी उद्यमशीलता यात्राबारे विशेष छलफल हुनेछ । 

    यस सम्मेलनले नेपालको स्टार्टअपहरुको प्रवद्र्धन र उद्यमशीलताको वातावरण निर्माणका लागि विशेष भूमिका खेल्ने विश्वासको साथै कार्यक्रमबाट प्राप्त हुने छलफल र सुझावहरूले व्यवसायिक नीति सुधार र लगानीको वातावरण बनाउन ठोस मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।

    सम्मेलनमा पूर्वगर्भनर चिरन्जिवी नेपाल, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उद्योगी विधुषी राणा, शोभा ज्ञवाली, निर्वाण चौधरी, प्राध्यापक डाक्टर भीम श्रेष्ठ, प्राडा महानन्द चालिसे, उद्योगी अम्बिका पौडेल, एनआरएनए अभियन्ता रविना थापालगायतका डेढ दर्जनबढी विशिष्ट व्यक्तिहरुले सम्मेलनको प्यानल डिस्कसनमा सहभागिता जनाउनेछन् ।  

  • सम्बन्धित विषय:

  • # कांग्रेस