काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचना प्रविधिको तिव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमासमेत जटिलता थपिएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारका प्रकृति र स्वरुप जसरी परिवर्तन भइरहेको छ त्यसअनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्दै आधुनिकिकरण गर्नुपर्ने बताएका हुन् ।
उनले मानिसलाई सत्ता शक्ति प्राप्तीको अनावश्यक मोहले प्रकृया पद्दती र जिम्मेवारीको दुरुपयोग गरी भ्रष्टाचारतर्फ लैजाने गरेको बताए ।
उनले भने,‘सत्ता शक्ति प्राप्तीको अनावश्यक मोहले प्रकृया पद्दती र जिम्मेवारीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ लैजान्छ । सूचना प्रविधिको तिव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमासमेत जटिलता थपिएको छ । भ्रष्टाचारका प्रकृति र स्वरुप जसरी परिवर्तन भइरहेको छ । त्यसअनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्दै आधुनिकिकरण गर्दै जानुपर्छ ।’
त्यस्तै उनले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्याउन नसकिने धारणा राखे । सुशासनप्रतिको उच्च आकांक्षालाई पूरा गर्दै देशको हित र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता र पारदर्शितालाई मूलमन्त्र बनाएर काम गर्नुपर्ने उनको भनाई छ ।
राष्ट्रपति पौडेलले भ्रष्टाचारसम्बन्धी विधेयकहरू लामो समयसम्म किनारा नलाग्दा पनि केही समस्या आएको गुनासो आइरहेको भन्दै भने,‘यसमा सम्बद्ध पक्षको म ध्यानाकर्षण गराउन चाहन्छु । भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तराष्ट्रिय महासन्धीको नेपाल पनि पक्षधर मुलुक भएकाले त्यसमा उल्लेखित प्रावधानअनुरुप हाम्रा कानुन र संयन्त्र परिमार्जन गर्न आवश्यक छ भन्ने पनि मलाई लाग्दछ ।’



