काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताएका छन् ।
शुक्रबार राष्ट्रपति पौडेलले धरानमा निर्मित धर्मशाला उद्घाटनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले हाम्रा धर्मशास्त्रहरूले पनि सेवालाई अत्यधिक महत्व र प्रधानता दिएको बताए ।
‘जुनसुकै धर्म,सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै हो, हरेक धर्म, सम्प्रदायलाई यही रुपमा बुझ्नसके यसले समाजमा सहिष्णुता बढाउन मद्धत पुग्छ भन्ने म ठान्दछु’, उनले भने ।
हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने उनको भनाइ थियो । राष्ट्रपति पौडेलले यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्धत गर्न सक्नुपर्नै पनि बताए ।
‘यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ, आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महशुस वर्तमान विश्वले गरिरहेको छ, आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौंतारीरहेको यहि कारण हो’, राष्ट्रपति पौडेलले भने ।
विश्वमा चरम भौतिक विकासको चाहना र होडवाजी बढेको र यसका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कीदो रहेको उनको भनाइ थियो ।



