काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकाम मन्त्री प्रकाशमान सिंहले विकसित भएका नयाँ माध्यमो प्रयोग गरेर पार्टीले गरेका कामबारे नागरिकलाई सुसूचित गर्नुपर्ने बताएका छन् ।
राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान नाराका साथ नेपाली कांग्रेसको प्रचार प्रसार विभागले शनिबार धनुषामा आयोजना गरेको कार्यक्रमा प्रमुख अतिथि रहनुभएका सिंहले यस्तो बताएका हुन् । उनले अहिले सामाजिक सञ्जाल र आर्टिफिसियल इनेटेलिजेन्टको सदुपयोग गर्न नसके त्यसको सिकार हुनुपर्ने अवस्था बनेको बताए । पार्टीको विचार, सिद्धान्त र गरेका ऐतिहासिक कामहरू जनताका पुर्याउन समयअनुसारको माध्यमको उपयोग गर्नुपर्ने सिंहको भनाई थियो ।
‘अहिले युवाहरू हतारमा देख्छु । सामाजिक सञ्जालको माध्यमबाट नेपाली कांग्रेसले गरेका कामहरू युवाहरूलाई आकर्षित गर्नेगरि लैजान सकियो भने त्यसले राम्रो हुन्छ भन्ने मलाई लागेको छ’ उनले भने, ‘सामाजिक सञ्जाल र एआईको सदुपयोग गर्न सकेनौं भने हामी आफैं त्यसको सिकार हुन्छौं । ’उनले कांग्रेसका कारण भएका उपलब्धि
जनताको बिचमा लैजानुपर्ने भन्दै ऐतिहासिक घटनाक्रम, तथ्यहरू लिएर जनतासम्म नपुगे आगामी दिन थप कठिन हुने बताए ।
कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले कांग्रेसले प्रजातन्त्रका लागि गरेको योगदानको अरू कसैसँग तुलना नहुने बताए ।
प्रतिकूल समयमा पनि कांग्रेसले आफ्नो सिद्धान्त र विचारमा अडिग रहि संघर्ष गरेकै कारण प्रजातन्त्रसहितका अहिलेको उपलब्धि हासिल भएको उनको भनाई थियो ।



