काठमाडौं । बुधबार सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा म्यानमारसँग हार व्यहोरेपछि नेपाली कप्तान एन्जिला तुम्बापो सुब्बाले फ्यानहरूसँग माफी मागेकी छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै फाइनल खेलमा फेरि चुकेकाले कप्तानको रूपमा सबै समर्थकहरूसँग माफी मागेकी हुन् ।
उनले खेलाडीहरूको आलोचना नगर्न पनि आग्रह गरेकी छन् । उनले भनिन्,"आलोचनाभन्दा बढी, हामीलाई अझ धेरै अवसरहरू आवश्यक छन्।कृपया खेलाडीहरूलाई आलोचना नगर्नुहोस्। हामी सबैले आफ्नो सक्दो मेहेनत गरेका छौं।"
उनले आफ्नो गल्तीका कारण पहिलो गोल बेहोरेको पनि बताइन् ।
उनले लेखेकी छन्,"फेरि पनि, हामी फाइनलमा पुग्यौं तर चुक्यौं। कप्तानको रूपमा, म सबै समर्थकहरूसँग माफी माग्न चाहन्छु’ ‘मैदानमा उपस्थित १६,००० दर्शकहरू र सधैं हामीलाई माया गर्ने करोडौं समर्थकहरू, हामी तपाईंहरूले अपेक्षा गरेको र चाहेको नतिजा दिन सकेनौं।’ ‘म्यानमार हामीभन्दा धेरै बलियो टोली थियो। पहिलो हाफ राम्रो खेलेका थियौं, तर दोस्रो हाफमा मेरो पहिलो गोलको गल्तीका कारण गोल खान पुग्यौं’।"
त्यसैगरी उनले आगामी दिनमा पनि समर्थकहरूबाट यस्तै माया, साथ र समर्थनको आवश्यकता रहेको बताइन् । त्यसैगरी उनले खेलाडीहरूको आलोचना नगर्न पनि आग्रह गरिन् ।
उनले भनिन्,"तपाईंहरूको समर्थनकै कारण महिला टोलीले यो पहिचान र अवसर पाएको छ। यसले हामीलाई अझ राम्रो गर्न प्रेरित गरेको छ। त्यसैले, आलोचनाभन्दा बढी, हामीलाई अझ धेरै अवसरहरू आवश्यक छन्।कृपया खेलाडीहरूलाई आलोचना नगर्नुहोस्। हामी सबैले आफ्नो सक्दो मेहेनत गरेका छौं।"
त्यसैगरी गोलकिपर अन्जना रानामगरले पनि फेरि एकपटक स्वर्ण मिस भएको भन्दै एकदिन फ्यानहरूको लागि अवश्य पनि स्वर्ण जिताउने विश्वास दिलाएकी छन् ।



