काठमाडौं । युगाण्डामा हुने महिला टी–२० आई शृंखलाका लागि नेपाली महिला टोली घोषणा भएको छ ।
आइतबार नेपाल क्रिकेट संघ(क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । टोलीमा सना प्रवीण र रिया शर्मा पहिलोपटक परेका छन् । उनीहरूले यू–१९ विश्वकप खेलेका थिए ।
मार्च ८ देखि १६ सम्म युगाण्डा क्रिकेट एसोसियनको आयोजनामा हुने महिला टी-२०आई क्रिकेट शृंखलामा युगाण्डा, नेपाल, हङकङ र नामिबियाको सहभागिता हुनेछ ।
नेपालले गत महिना घरेलु मैदानमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग ३-३ खेलको शृंखला खेलेको थियो ।
नेपालले युगाण्डासँग यसअघि घरेलु मैदानमै शृंखला खेलेको थियो भने हङकङसँग पनि खेलिसकेको छ । नामिबियासँग भने महिला क्रिकेटमा नेपालको पहिलो भेट हुनेछ ।


