काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल भूतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको जानकारी गराउँदै नेपाली काँग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्ने बताए ।
सभापति देउवाले भने,"नेपाल भूतपूर्व सैनिक संघमा साथीहरूको समस्या नभएको होइन । यसमा स्पष्ट छु । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ । साथीहरूको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाइनेछ । नेपाली भूपू सैनिकमा पेन्सनको जुन विभेद छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ । लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुन्छ । सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो नेपाली काँग्रेस पार्टी बलियो हुन्छ । नेपाली काँग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्छ । यसमा विशेष ध्यान दिन मेरो अनुरोध छ ।"
सभापति देउवाले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो नेपाली काँग्रेस पार्टी बलियो हुने जिकिर गरे । नेपाली काँग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्ने बताए ।



