काठमाडौं । महिला टी–२० आई क्रिकेट शृंखलामा नेपालले चौथो हार व्यहोरेको छ ।
बिहीबार नेपाल युगान्डासँग ४० रनले पराजित भएसँगै सिरिजमा चौथो हार व्यहोरेको हो ।
युगान्डाले दिएको ९२ रनको लक्ष्य पछाएको नेपालले १७.१ ओभरमा अल आउट हुँदै ५१ रन मात्र बनायो ।
नेपालका लागि कविता जोशीले १२ र इन्दु बर्माले ११ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको युगान्डाले २० ओभरमा ५ विकेट गुमाउँदै ९१ रन बनाएको थियो ।
युगाण्डाका लागि रिताह मुसमालीले सर्बाधिक ३८ र एसथर इलोकुले २२ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर रिया श्रेष्ठले २ विकेट लिएकी थिइन् भने इश्वरी विष्ट, पूजा महतो र रुबिना क्षेत्रीले एक एक विकेट लिएका थिए ।
यो हारसँगै नेपालको फाइनलको सम्भावना समाप्त भएको छ । नेपालले ५ खेलमा ४ हार र एक जित हासिल गरेको छ । नेपालले यस अघि नामिबियासँग दुवै पटक तथा हङकङ र युगान्डासँग एक एक खेलमा हार बेहोरेको थियो । त्यस्तै आयोजक युगान्डालाई एक खेलमा पराजित गरेको थियो ।


