असोज ३० काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा चेन्नईले कोलकता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चौथो पटक च्याम्पियन बनेको हो । च्याम्पियन चेन्नईले १० करोड भारु र उपविजेता कोलकताले ६ करोड २५ लाख भारु पुरस्कार पाउने छन् ।
जितको लागि १ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । कोलकता ओपनर सुभमन गिलले सर्वाधिक ५१ रन बनाए । अर्का ओपनर वेंकटेश ५० रनमा आउट भए ।
कोलकतालाई ओपनर ऐर र गिलले पहिलो विकेटका लागि १०.४ ओभरमा ९१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर त्यसपछि लगातार विकेट गुमाउँदै पराजित हुन पुगेको हो । नितिश राणा शून्य, सुनिल नाराायण २, कप्तान ओईन मोर्गन ४, दीनेश कार्तिक ९ र सकिब अल हसन शून्यमा आउट भए । तल्लोक्रमका शिवम माभीले १३ बलमा १ चौका र २ छक्का सहित २० रन बनाए । लोकी फर्गुसनले १८ रन बनाए ।
चेन्नईका शार्दूल ठाकुरले ३ विकेट लिए । रविन्द्र जडेजा र जोश हेजलवुडले २/२ विकेट लिए । डवेन ब्राभो र दीपक चाहरले १-१ विकेट लिए ।
त्यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो ।


