काठमाडौं । आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौटको खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको छ ।
शनिबार बहराइनले दिएको ४२ रनको लक्ष्य पछाएको नेपालले ४.२ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । नेपालको लागि कविता कुँवरले १८, सम्झना खड्काले अविजित १८ रन बनाइन् ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बहराइनले ५ ओभरमा एक विकेट गुमाउदै ४१ रन बनाएको हो । बहराइनका लागि कप्तान दीपिका रसानगीकाले सर्बाधिक ३४ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर पुजा महतोले एक विकेट लिएकी थिइन् ।
बैंककमा भएको यो खेल बर्षाले प्रभावित भएपछि ५-५ ओभर खेलाइएको थियो । यस खेलमा नेपाली कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेकी थिइन् ।
यो जितपछि नेपालको समुह सी मा २ खेलमा ३ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । यस अघि शुक्रबार हङकङ चाइनाविरुद्ध खेल बर्षाले हुन नसकेपछि रद्ध भएपछि नेपालले एक अंक पाएको थियो ।
अब नेपालले अर्को खेल मे १३ मा फेरी हङकङ चाइना र मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ ।


