काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीको अन्तिम खेलमा थाइल्याण्डले नेपाललाई १५९ रनको लक्ष्य दिएको छ ।
मंगलबार थाइल्याण्डमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउँदै १५८ रन बनाएको हो ।
थाइल्याण्डका लागि नन्नापाट कोन्चारोनकाई र नताया बूचाथामले ५०-५० रन बनाए । त्यस्तै नेपाली बलर राजमती ऐरी र मनिषा उपाध्यायले एक एक विकेट लिए ।
नेपाल र थाइल्याण्ड दुवै आइसीसी विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा पुगिसकेका छन् । यस खेलको विजेताले एशिया छनौटको विजेताको तय गर्ने छ ।
नेपालले हालसम्म थाइल्याण्डलाई हराउन सकेको छैन । यदि आजको खेलमा जित निकाल्न सके नेपाली महिला टिमले अर्को इतिहास बनाउने छन् ।


