काठमाडौं । नेपाललाई पेनाल्टी सुटआउटमा हराउदै उज्बेकिस्तान एएफसी महिला एसियन कपमा छनोट भएको छ ।
शनिबार भएको खेलमा पेनाल्टी सुट आउटमा उज्बेकिस्तान ४–२ ले विजयी भएको हो । निर्धारित ९० मिनेटसम्म ३–३ गोलको बराबरीमा भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । नेपालका लागि सावित्रा भण्डारी र गोलकिपर अन्जना राना मगरले पेनाल्टी मिस गरेका थिए ।
यस अघि खेलको दोस्रो मिनेटमै शुरुवाती गोल गरेको उज्बेकिस्तानले खेलको १२औं मिनेटमा दोस्रो गोल गरेको थियो । त्यसपछि खेलको २४औ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि एक गोल गरेकी थिइन् । त्यसपछि उज्बेकिस्तानले खेलको ३९औं मिनेटमा पेनाल्टीबाट गोल गरेको थियो ।
पहिलो हाफको इन्जुरी समयमा उज्बेकिस्तानकी खेलाडीले रातो कार्ड खाएर मैदान छोडेपछि १० खेलाडीमा सिमित भएको थियो । खेलको दोस्रो हाफमा नेपालले दुई गोल गर्दै खेलमा फर्किएको थियो ।


