शुक्रबार, श्रावण २९ गते २०८३
images
images

देउवासँगको छलफलपछि मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा

एक्सप्रेस पाना
श्रावण १६, २०८२ शुक्रबार
  • 293
    SHARES
  • देउवासँगको छलफलपछि मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ राजीनामा दिने मुडमा पुगेका छन् ।

    images

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न स्पष्ट निर्देशन दिएपछि उनले पदबाट राजीनामा दिने तयारी थालेका हुन् ।

    सभापति देउवाले बिहीबार काठमाडौं बोलाएर लामासँग भेट गरेका थिए। भेटमा देउवाले पार्टीभित्रको विवादलाई चाँडै समाधान गर्दै लोकतान्त्रिक विधिबाट आएको निर्णयलाई स्वीकार गर्न सुझाव दिएका थिए ।

    images

    ‘पार्टीभित्रको कुरा धेरै नलम्ब्याऔं, कसैलाई फाइदा नहुने खालको विवादमा नअल्झिऔं,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै एक नेताले जानकारी दिए । देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले आफ्नो टोलीसँग छलफल गरेर मात्रै अन्तिम निर्णय लिने बताएका छन् ।

    उनले पदबाट हटेपछि आफूनिकटका सांसद र मन्त्रीहरूको व्यवस्थापन कसरी गरिन्छ भन्नेबारे सभापति देउवालाई सोधेका थिए । जवाफमा देउवाले ‘सबैलाई मिलाएर जानुपर्छ’ भन्ने स्पष्ट निर्देशन दिएका थिए ।

    लामा काठमाडौँमा आफूनिकट सांसदहरूसँग बैठक र परामर्शमा व्यस्त छन् । उनी बागमतीमा कांग्रेस नेतृत्वको सरकारलाई टिकाइ राख्न आफूपछि पनि आफूनिकटका सांसदहरूले महत्त्वपूर्ण मन्त्रालय पाउने सुनिश्चितता खोजिरहेका छन् ।

    उनको मागमा आर्थिक मामिला लगायतका प्रभावशाली मन्त्रालय आफूनिकटका मन्त्रीलाई दिनुपर्ने अडानमा छन् । अविश्वास प्रस्तावमा साथ दिएका तीन सांसदलाई मन्त्री नियुक्त गरिए पनि प्रदेश प्रमुखको स्वास्थ्य अवस्थाका कारण सपथ ग्रहण कार्यक्रम स्थगित भएको छ ।

    यदि आफूनिकटका नेताहरूको व्यवस्थापन सुनिश्चित नभए, मुख्यमन्त्री लामाले पद नत्याग्ने र कानुनी प्रक्रिया अनुसार अघि बढ्ने तयारी रहेको उनको पक्षधर एक सांसदले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # बहादुर सिंह लामा