शुक्रबार, श्रावण २९ गते २०८३
images
images

माल्टाबाट कुलमानले भने:उज्यालो नेपाल अभियानले सबैलाई जोड्छ

एक्सप्रेस पाना
भाद्र ६, २०८२ शुक्रबार
  • 282
    SHARES
  • माल्टाबाट कुलमानले भने:उज्यालो नेपाल अभियानले सबैलाई जोड्छ

    काठमाडौं । हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताएका छन् । 

    images

    एनआरएनए माल्टा तथा तामाङ समाज माल्टाद्वारा संयुक्तरुपमा आयोजित भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै घिसिङले राजनीति सही नभएसम्म मुलुकले फड्को मार्न नसक्ने बताए ।

    मुलुकमा छिटो भन्दा छिटो आर्थिक परिवर्तन गर्न र विदेशिएका नेपालीलाई नेपाल फर्काउन पनि नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक भएको उनले बताए । 

    images

    उनले ३० वर्षसम्म विभिन्न जिम्मेवारीमा बसेर काम गर्दा गरेको सही नेतृत्व नहुँदासम्म देश अगाडि बढ्न नसक्ने निक्र्यौलमा आफू पुगेको बताए।

    ‘अहिले देशभरि झन्डै हरेक नेपालीको घरमा बत्तीको उज्यालो पुगेको छ । तर  बत्तीको उज्यालोले मात्रै पुग्दैन, देशभित्र हरेक सेक्टर उज्यालो हुनुपर्यो । सुशासन कायम गर्न, देशभित्रै  रोजगारी सिर्जना गर्न र नेपालको समृद्धिको खाका कोर्नका लागि उज्यालो नेपाल अभियान सुरु गरिएको हो,’ घिसिङले भने।

    उनले विभिन्न पार्टीभित्र रहेका, पार्टी बाहिर रहेका, स्वदेश वा विदेशमा रहेका सबै मिलेर नेपालमा राम्रो नेतृत्व जन्माउनुपर्ने बताए ।

    ‘अहिलेको लिडरशिप सच्चिनुपर्छ, सच्चिएन भने पार्टी भित्र वा बाहिरबाट पनि लिडरशिप आउनुपर्छ,’ उनले भने। ‘राइट म्यान इन राइट प्लेस एट द राइट टाइम नभएसम्म प्रगति हुन सक्दैन,’ ।

    उनले प्रवासमा बसेर पनि नेपालको रुपान्तरणको लागि मैले के गर्न सक्छु भनेर  सोच्न आग्रह गरे। ‘नेपालमा परिवर्तनका लागि तपाईंको भूमिका महत्वपूर्ण छ,’उनले भने।

    केही गरौँ भन्नेहरुलाई निरुत्साहित गर्ने, त्यहाँबाट लखेट्न खोज्ने प्रवृत्तिले आम जनसमुदायमा निराशा जन्माउछ भन्दै घिसिङले विरोधको नाममा विरोध होइन, साच्चिकै परिवर्तनका लागि अगाडि बढन आह्वान गरे । 

    ‘समय आउँछ, त्यो समयलाई  प्रयोग गर्नुपर्छ । निरन्तर हामी देश विदेशमा अभियान चलाई रहेका छौं।  यो सबैलाई जोड्ने अभियान हो।  बाँकी जीवन देशको लागि लगाउने भनेर म लागेको छु।  यो अभियानमा साथ दिनुहोस्,’ उनले भने।

    उनले सर्वोच्च अदालतले विदेशमा कार्यरत नेपालीलाई पनि मतदान गर्न दिन निर्देशन दिइसकेकाले जतिसक्दो चाडो कानून बनाउनु पर्ने बताए। 

    ‘यसलाई सकेसम्म चाडो कार्यान्वयन गर्न जोड़ दिने छौं, यसमा यहाँहरु सबैकÞो साथ आवश्यक छ,’ उनले भने।

    कार्यक्रमको सभापतित्व गरिरहेका एनआरएनए एनसीसी माल्टाका अध्यक्ष रेम्स खनालले असली नेतृत्व भनेको केवल समस्या देख्नु मात्र होइन, त्यसको समाधानको बाटो पनि देखाउन सक्नु हो भन्दै मुलुकलाई लोडशेडिंग मुक्त गरी बिजुली निर्यातसम्म पुराएर घिसिङले नेपाल र नेपालीको ठूलो सेवा गरेको बताए।  

    उनले कर्मयोगी कुलमानले बोकेको परिकल्पना अझ सफल बनोस्, सशक्त बनोस् र सम्पूर्ण नेपाली समुदायलाई प्रेरणा दिइरहोस् भन्ने शुभकामना दिए।  उनले  कार्यक्रम सफल बनाउन सहयोग गर्ने माल्टा तथा गोजोमा बसोबास गर्ने नेपाली डायस्पोरालाई धन्यवाद पनि दिए  ।

    कार्यक्रममा एनआरएनए माल्टा तथा नेपाली संघसंस्थाहरुको तर्फबाट घिसिङलाई सम्मान गर्नुका साथै विशेष कदर पत्र पनि प्रदान गरिएको थियो।

    त्यस्तै  नेपाली समुदायको शान बढाउँदै बरिस्ता अफ दि इयर कन्ट्री च्याम्पियन २०२५ हासिल गरेकी सावित्री तामाङलाई पनि यस कार्यक्रम मार्फत विशेष सम्मान पत्र अर्पण गरिएको थियो । 

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ