काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्नु गैर कानुनी हुने दोहोर्याएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको भारतमा लागेको उपचार खर्च सरकारले तिर्ने निर्णय सार्वजनिक भएसँगै उनको आश्वासनका सन्दर्भमा गगनको यस्तो प्रतिक्रिया आएको हो । सामाजिक संजालमा पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च व्यहोर्ने निर्णय अघिल्लो सरकारले कानूनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्नु नहुने उल्लेख गरेका छन् ।
गगन लेख्छन्,२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा ”प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन”भन्ने व्यवस्था छ र उक्त कानुन २०७५र६र२ गतेदेखि लागू भइसकेको छ। यो कानुन कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति,प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन। कानुनको यो व्यवस्थाको सम्बन्धमा सम्माननीय प्रधानमन्त्री प्रस्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ ।
यसअघि ओली सरकारले झलनाथको उपचार खर्च व्यहोर्ने भएपछि गगनले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए । अहिले देउवाले पनि झलनाथसँग फोनमा कुराकानी गर्दै सरकारले खर्च व्यहोर्ने बताएका छन् ।

.jpg)


