शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विदेशमा रहेका नेपालीलाई मतदान गर्न दिने विषयमा जोड दिइनेछ:गृहमन्त्री अर्याल

एक्सप्रेस पाना
आश्विन २, २०८२ बिहीबार
  • 284
    SHARES
  • विदेशमा रहेका नेपालीलाई मतदान गर्न दिने विषयमा जोड दिइनेछ:गृहमन्त्री अर्याल

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीअन्तर्गत मतदान गर्न दिने विषयमा विशेष जोड दिए । 

    images

    बिहिबार निर्वाचन आयोगमा भएको छलफलको क्रममा उनले सर्वोच्च अदालतले समेत यस विषयमा आदेश दिइसकेकाले विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीअन्तर्गत मतदान गर्न दिने विषयमा विशेष जोड दिएका हुन् । 

    ‘विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भए पनि मतदान गर्न पाउनुपर्ने माग अहिले धेरै ठूलो अपेक्षा बनेको छ,’ उनले भने, ‘सर्वोच्च अदालतले समेत यस विषयमा आदेश दिइसकेको धेरै वर्ष भइसकेको छ । अब यसलाई सम्भव बनाउनैपर्छ । प्राविधिक कठिनाइ भएपनि जहाँबाट सकिन्छ, यो व्यवस्था लागू गर्नु आवश्यक छ ।’

    images

    गृहमन्त्री अर्यालले आगामी निर्वाचनलाई समावेशी र सहभागीमूलक बनाउन सबै पक्षलाई समेट्ने प्रयास आवश्यक रहेको भन्दै निर्वाचन आयोगसँग सहकार्यमा रहन सरकार तयार रहेको स्पष्ट पारे ।
     
    उनले जेनजी युवा समूहद्वारा सञ्चालित आन्दोलन सफल भएको उल्लेख गर्दै त्यस विद्रोहको क्रममा निर्वाचन आयोगका केही कार्यालय समेत क्षतिग्रस्त भएको जानकारी दिए ।

    गृहमन्त्री अर्यालले भने, ‘अहिले जुन खालको विद्रोह भयो, त्यसको क्रममा सरकारी कार्यालयहरूमा व्यापक रूपमा क्षति पुगेको छ । निजी क्षेत्रहरूमा पनि सम्पत्तिहरू नष्ट गरिएको छ । निर्वाचन आयोगका केही कार्यालयहरू पनि क्षतिग्रस्त भएका छन् । नेपाल सरकारले ती कार्यालयहरू पुनः सञ्चालनमा ल्याउने कार्य गरिरहेको छ ।’

     

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री अर्याल