शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण:राष्ट्रपति पौडेल

एक्सप्रेस पाना
कार्तिक २३, २०८२ आइतबार
  • 217
    SHARES
  • लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण:राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण हुने बताएका छन् । 

    images

    आइतबार सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा सार्वजनिक सेवा प्रसारण र एन टिभी वल्र्डको औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । 

    ‘नेपाली जनताको ठूलो बलिदानीले लोकतन्त्रको स्थापना भएको हो । यसको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माण गर्न सञ्चारमाध्यमको योगदान महत्वपूर्ण रहन्छ’, उनले भने । 

    images

    राष्ट्रपति पौडेलले सुशासन र लोकतन्त्रलाई अझ उन्नत बनाउन फागुन २१ को निर्वाचन सफल बनाउनुपर्ने बताए । 

    उनले भने, ‘युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन सञ्चारमाध्यमहरुले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आजको आवश्यकता हो ।’

    राष्ट्रपति पौडेलले देशको सकारात्मक परिवर्तन, विकासका पहल, सम्भावना र अवसरहरूका बारेमा नागरिकलाई सूचित गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्न सन्चारमाध्यम तथा सन्चारकर्मीहरूलाई आग्रह समेत गरे ।

    उनले भने, ‘सार्वजनिक सेवा प्रसारण सरकारी वा व्यावसायिक स्वार्थको सञ्चार संस्था होइन, यो नागरिकको संस्था हो, जसले सरकारको हस्तक्षेप र व्यावसायिक दबाबभन्दा माथि उठेर नागरिकको पक्षमा, राष्ट्रहितमा काम गर्नुपर्छ ।’

    स्वतन्त्र स्वायत्त संस्थाका रुपमा सार्वजनिक प्रसारण माध्यमको विकास भएको उनको भनाई थियो । उनले पछिल्लो समय गलत सूचना, भ्रामक समाचार र अफवाह फैलिने क्रम बढ्दै गएको छ भन्ने चिन्ता व्यक्त हुँदै आएको उल्लेख गरे । 

    ‘यस्तो परिप्रेक्ष्यमा, राष्ट्रको विश्वासिलो सञ्चार माध्यमका रूपमा सार्वजनिक सेवा प्रसारण अन्तर्गतका हाल सञ्चालनमा रहेका सबै माध्यमले जनता र राष्ट्रलाई केन्द्रमा राखेर विश्वसनीय, जिम्मेवारी र निष्पक्षताका साथ पत्रकारिताको मर्यादा र धर्म निर्वाह गर्ने नै छ’, उनले भने । 

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल