काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै विराटनगर किंग्स विजयी भएको छ ।
सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै विराटनगर विजयी भएको हो । १४८ रनको लक्ष्य पछाएको विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।
विराटनरको जितमा दुई ओपनरले अर्धशतक प्रहार गरे । फाफ डु प्लेसिस २० बलमा ५० र साम हिटलेज २७ बलमा ५० रन बनाएर आउट भए । मार्टिन गप्टिल २२ र बसिर अहमद ८ रनमा आउट भए । लोकेश बम ३ र प्रतिश जिसी १३ रनमा अविजित रहे । बलिङमा सुदूरपश्चिमका अभिनास बोहरा दुई र हर्मित सिंहले एक विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित सर्वाधिक ४५ रन बनाए ।
विनोद भण्डारी १५, जोश ब्राउन २४, इसान पाण्डे ३८, हर्मित सिंह ०, कप्तान दीपेन्द्रसिंह ऐरी १९ र दीपक बोहरा ३ रनमा आउट भए ।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । प्रतिश जिसीले दुई तथा बसिर अहमदले एक विकेट लिए ।
यो जितसँगै विराटनगरले प्रतियोगिताको पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग नै भेट पक्का गरेको हो । सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदा विराटनगरले १० अंकसहित दोस्रो स्थान हासिल गरेको छ ।


