काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन आह्वानको माग पुनः चर्किएको छ। विशेष महाधिवेशन पक्षधरले पार्टी विधानअनुसार विशेष केन्द्रीय महाधिवेशन तत्काल बोलाउनुपर्ने माग दोहोर्याएका छन्।
शुक्रबार काठमाडौंको अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले १५औँ महाधिवेशन तोकिएको समयभित्र सम्पन्न हुन नसकेको उल्लेख गर्दै अब विशेष महाधिवेशन बाहेक अन्य विकल्प नरहेको स्पष्ट पारे। उनीहरूले महाधिवेशन नेपाली कांग्रेसका लागि नियमित प्रक्रिया मात्र नभई पार्टीको ‘जीवनधारा’ भएको बताए।
पछिल्लो विशेष राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ, गतिशील र जनभावनाअनुरूप बनाउन तथा समसामयिक नीति निर्माण गर्न विशेष महाधिवेशन अपरिहार्य भएको उनीहरूको धारणा छ। पार्टी विधानले तोकेको समयसीमा २०८२ मंसिरभित्र १५औँ महाधिवेशन सम्पन्न गर्न नसकिएकाले विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्नुपर्ने उनीहरूको जोड छ।
प्रतिनिधिहरूले गत असोज २९ गते देशभरका २ हजार ४८८ जना अर्थात् ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराइसकेको बताए। विधानअनुसार यो व्यवस्था बाध्यकारी भए पनि केन्द्रीय कार्यसमितिले उक्त मागलाई औपचारिक एजेन्डासमेत नबनाएको उनीहरूको गुनासो छ।
केन्द्रीय समितिको ४८ दिनसम्म चलेको बैठकबाट १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भए पनि त्यसको कार्यान्वयन हुन नसकेको उनीहरूको दाबी छ। घोषित मितिअनुसार पौष १६ मा हुनुपर्ने वडा अधिवेशनसमेत हुन नसकेको र अन्ततः १५औँ महाधिवेशनका कार्यक्रम स्थगित भइसकेको बताए।
पत्रकार सम्मेलनमा उनीहरूले भने, “घोषित मितिमा महाधिवेशन नभए स्वतः विशेष महाधिवेशन हुनुपर्छ भन्ने हाम्रो चेतावनी थियो। अब १५औँ महाधिवेशन नहुने स्पष्ट भइसकेकाले विशेष महाधिवेशन अपरिहार्य भएको छ।”
उनीहरूले विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार भएको भन्दै यसलाई कसैको इच्छा वा छनोटको विषय बनाउन नहुने बताए। पार्टी विधानभन्दा माथि कोही नरहेको र विधानको बाध्यकारी व्यवस्थाको पालना गर्नु नेतृत्वको न्यूनतम जिम्मेवारी भएको उनीहरूको भनाइ छ।
त्यसैगरी, विधानले तोकेको तीन महिनाको समयसीमाभित्र अर्थात् २०८२ पौष २८ भित्र विशेष महाधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले आगामी पौष २७–२८ गते विशेष महाधिवेशन आयोजना गर्न केन्द्रीय नेतृत्वसँग पुनः माग गरिएको छ। उनीहरूले यो मागलाई जित–हारको रूपमा नलिई पार्टीको एकता, आन्तरिक लोकतन्त्र र जनताप्रतिको जवाफदेहिता सुदृढ बनाउने अवसरका रूपमा लिन आग्रह गरेका छन्।
यसैबीच, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशन आह्वान गरेसँगै पार्टीभित्र आन्तरिक विवाद सतहमा आएको छ। निर्धारित समयमै नियमित महाधिवेशन हुन नसकेको अवस्थालाई कारण देखाउँदै महामन्त्रीद्वयले विधानअनुसार विशेष महाधिवेशन बोलाइएको बताएका छन्।
पार्टीभित्र देखिएका संरचनागत समस्या, नेतृत्वसम्बन्धी अन्योल र संगठन सुदृढीकरणका विषयमा निर्णय लिन विशेष महाधिवेशन आवश्यक भएको उनीहरूको भनाइ छ।
तर पार्टी संस्थापन पक्षले भने विशेष महाधिवेशनको निर्णयप्रति असहमति जनाएको छ। सभापति शेरबहादुर देउवा पक्षले सहमति बिना अगाडि बढ्दा पार्टीमा थप तनाव र विभाजनको अवस्था आउन सक्ने चेतावनी दिएको छ। संस्थापन समूह नियमित महाधिवेशनकै तयारीमा केन्द्रित हुनुपर्ने पक्षमा देखिएको छ।
विशेष महाधिवेशनको घोषणापछि कांग्रेस केन्द्रीय नेतृत्वभित्र छलफलहरू तीव्र बनेका छन्। विश्लेषकहरूका अनुसार पार्टीभित्रको यो मतभेदले कांग्रेसको आन्तरिक एकता, संगठनात्मक संरचना र आगामी राजनीतिक कार्यदिशामा प्रभाव पार्न सक्छ।
यसै सन्दर्भमा, नेपाली कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। उक्त बैठकमा विशेष महाधिवेशनसम्बन्धी विवाद र आगामी कार्यदिशाबारे छलफल हुने अपेक्षा गरिएको छ।



