शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन:मीन विश्वकर्मा

एक्सप्रेस पाना
माघ २, २०८२ शुक्रबार
  • 110
    SHARES
  • कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन:मीन विश्वकर्मा

    काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गगन थापा समूहले पार्टीको आधिकारिकता दाबी गर्दै भ्रम फैलाएको भन्दै त्यसबारे जानकारी गराउन आफूहरू निर्वाचन आयोग पुगेको बताएका छन् ।

    images

    शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै विश्वकर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित १३५ जना केन्द्रीय सदस्य निर्वाचन आयोग गएको जानकारी दिए । उनका अनुसार गगन थापा समूहको दाबी निरर्थक रहेको र पार्टीले कुनै विशेष महाधिवेशन आह्वान नगरेको स्पष्ट पारका हुन् ।

    ‘विशेष महाधिवेशन आह्वान गर्ने अधिकार सभापति र केन्द्रीय समितिलाई मात्र हुन्छ,’ विश्वकर्माले भने, ‘उहाँहरूले काठमाडौं जिल्ला सभापतिको अध्यक्षतामा भेला गर्नुभएको छ, त्यो काठमाडौं जिल्ला अधिवेशन हुनसक्छ, तर केन्द्रीय तहको विशेष महाधिवेशन होइन ।’

    images

    उनले पछिल्लो समय केही पूर्व नेताहरूले निर्वाचन आयोगमा आएर नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति परिवर्तन भएको, अद्यावधिक भएकोजस्ता दाबी गर्दै भ्रम सिर्जना गरेको र त्यसअनुसार सञ्चारमाध्यममा समाचार आएको थाहा पाएपछि पार्टी नेतृत्व गम्भीर भएको बताए ।

    विश्वकर्माका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा, उपसभापति तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङलगायत १३५ भन्दा बढी केन्द्रीय सदस्यको सामूहिक उपस्थितिमा निर्वाचन आयोगमा पार्टीको आधिकारिक धारणा राखिएको हो ।

    ‘हाम्रो पार्टीको कुनै अधिवेशन वा विशेष महाधिवेशन हालसम्म भएको छैन,’ उनले भने, ‘केन्द्रीय कार्य समितिको सर्वसम्मत निर्णयअनुसार चैत २१ गते वडा अधिवेशन, वैशाख २८, २९ र ३० गते केन्द्रीय महाधिवेशन हुने कार्यतालिका तय भइसकेको छ ।’

    उनले नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको, राष्ट्रिय सभाका उम्मेदवार मनोनयन तथा दर्ता गरिसकेको र आयोगका सबै बैठकमा आधिकारिक रूपमा सहभागी हुँदै आएको पनि स्पष्ट पारे ।

    ‘बीचमा केही व्यक्तिहरू आफूलाई नेपाली कांग्रेस भन्दै कानुनी आधारबिनै दाबी गर्दै आएका छन्,’ विश्वकर्माले भने, ‘पार्टीको वैधानिकता र आधिकारिकता जोगाउन तथा भ्रम चिर्न प्रारम्भिक सिद्धान्तका आधारमा हामी निर्वाचन आयोगमा गएर जानकारी गराएका हौं ।’

  • सम्बन्धित विषय:

  • # मीन विश्वकर्मा
  • # महाधिवेशन