शनिबार, भाद्र २७ गते २०८३
images

कीर्तिमानसहित नासिर विश्व च्याम्पियनसिपमा छनौट

एक्सप्रेस पाना
कार्तिक ८, २०७८ सोमबार
  • 236
    SHARES
  • कीर्तिमानसहित नासिर विश्व च्याम्पियनसिपमा छनौट

    कात्तिक ८ काठमाडौं । नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित अवुधावीमा आयोजना हुने १५औँ फिना विश्व च्याम्पियनसिप २०२१ का लागि छनौट हुन सफल भएका छन् ।

    images

    नेपाल पौडी संघले आइतबार सातदोवाटोस्थित २५ मिटरको पौडी पोखरीमा आयोजना गरेको छनौट प्रतियोगितामा नासिर २०० मिटर फ्रिस्टायलमा १ मिनेट ५७‍।८५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै ५९९ फिना अंकका साथ विश्व च्याम्पियनसिपका लागि छनौट भएका हुन् । 

    यसअघि २५ मिटर दूरीमा ओलम्पियन एलेक्सजेण्डर गादेगाद शाहको नाममा २ मिनेट ००।०४ सेकेण्डको कीर्तिमान थियो । शाहले उक्त कीर्तिमान २ वर्षअघि काठमाडौँमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुदमा भएको पौडी प्रतियोगितामा राखेका थिए ।

    images

    दुई पुरुष र दुई महिलाको लागि भएको छनौट प्रतियोगितामा ओलम्पियन शाह पनि छनौट भएका छन् । नेपाल पौडी संघले जापानमा आयोजना भएको ओलम्पिकमा सहभागी भएका दुई खेलाडी एलेक्जेण्डर शाह र गौरिका उच्च शिक्षा अध्ययनका लागि विदेशमा रहेकोले उनीहरूको निरन्तर प्रशिक्षण तथा प्रतियोगितामा सहभागिता जनाइरहेको र फिना अंकको निकट समयलाई कायम राखेको आधारलाई मापदण्ड बनाई विश्व च्याम्पियनसिपमा छनौट गर्ने निर्णय गरेकोमा शाहले उक्त मापदण्डलाई पुरा गरेका कारण छनौट हुन सफल भएका जनाएको छ । तर, गौरिका भने उच्च शिक्षा अध्ययनका क्रममा विदेश रहेका कारण सहभागी हुन नसकेको नेपाल पौडी संघले जनाएको छ ।

    दुई महिलातर्फ अनुशिया तण्डुकार र उपास्ती महर्जनले विश्व च्याम्पियनसिपको लागि छनौट हुने सौभाग्य प्राप्त गरेका छन् । अनुशियाले १०० मिटर फ्रिस्टायलमा १ मिनट २।६० सेकेण्ड समयका साथ ५१७ फिना अंक तथा उपास्तीले ५० मिटर ब्रेष्टस्ट्रोकमा ३६।२६ सेकेण्ड समयका साथ ४८९ फिना अंकका साथ छनौट हुन सफल भएका हुन् ।

    सोही छनौटका क्रममै भएको पुरुष १०० मिटर बटरफ्लाइमा अनुभव सुब्बाले पनि राष्ट्रिय कीर्तिमान कायम गरे । उनले उक्त दूरी ५९‍।१० सेकेण्डमा पूरा गरेका थिए । यसअघि उक्त दूरीको कीर्तिमान सैयद हेम्जा शाहको नाममा १ मिनट ००।२५ सेकेण्डको थियो ।

    शाहले उक्त कीर्तिमान नेपालगञ्जमा आयोजना भएको ८औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरान राखेका थिए ।