काठमाडौँ । नेपालमा आयोजना भएको आइसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर आजदेखि औपचारिक रूपमा सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन चारवटा खेल हुँदैछन् । आज नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । त्यसैगरी अपर मुलपानी क्रिकेट मैदानमा अमेरिका र बंगलादेशबीच खेल हुनेछ ।
अर्को खेलमा जिम्बाबे र नेदरल्याण्ड्स त्रिवि मैदानमै आमनेसामने हुँदैछन् भने अपर मुलपानीमा आयरल्याण्ड र पिएनजीबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ । क्यानले दर्शकका लागि सबै खेलमा निःशुल्क प्रवेशको व्यवस्था गरेको जनाएको छ ।
यस प्रतियोगिताका लागि नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनिषा उपाध्याय समावेश छन् ।
जनवरी १८ देखि फेब्रुअरी १ सम्म चल्ने यस ग्लोबल क्वालिफायरमा १० राष्ट्र सहभागी छन् ।
ग्लोबल क्वालिफायरको समूह ‘ए’ मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे रहेका छन् भने समूह ‘बी’ मा बंगलादेश, नामिबिया, नेपाल, नेदरल्याण्ड्स र पिएनजी समावेश छन् ।


