शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सर्लाही–४ को प्रतिस्पर्धा:थापा कि सिंह, बाजी कसको हातमा ?

एक्सप्रेस पाना
माघ ७, २०८२ बुधबार
  • 203
    SHARES
  • सर्लाही–४ को प्रतिस्पर्धा:थापा कि सिंह, बाजी कसको हातमा ?

    सर्लाही । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गरिसकेका छन्। यसैबीच, सर्लाही–४ क्षेत्र राजनीतिक बहसको केन्द्र बनेको छ। प्रमुख दलका प्रभावशाली नेताहरू मैदानमा उत्रिएपछि यस क्षेत्रको चुनावलाई विशेष चासोका साथ हेरिएको छ। यस पटक सर्लाही–४ मा हुने चुनाव राजनीतिक प्रतिष्ठा र भविष्यको नेतृत्वसँग प्रत्यक्ष सम्बन्धित बन्ने देखिएको छ।

    images

    नेपाली कांग्रेसको नेतृत्व सम्हालिसकेका गगनकुमार थापा यस पटक सर्लाही – ४ बाट उम्मेदवार बनेका छन् । लामो समयदेखि पार्टीभित्र प्रभाव जमाउँदै आएका थापाले सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमार्फत हटाएर पार्टीलाई नेतृत्वमा लिएका छन् । त्यसैले उनको उम्मेदवारीलाई यस क्षेत्रको चुनावसँग मात्र नभई पार्टीभित्रको शक्ति सन्तुलन र भविष्यको राजनीतिक प्रभावसँग पनि जोडेर हेरिएको छ।

    २०७० सालदेखि काठमाडौं – ४ बाट लगातार चुनाव जित्दै आएका थापाले यस पटक निर्वाचन क्षेत्र परिवर्तन गरी मधेस प्रदेशको सर्लाही – ४ रोज्नुले पनि राजनीतिक वृत्तमा चर्चा बढाएको छ । २०६४ सालको संविधानसभा निर्वाचनबाट समानुपातिक सभासद् बनेर संसदीय यात्रा थालेका थापाका लागि यो निर्वाचन प्रतिष्ठाको विषय बनेको छ ।

    images

    पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनको निर्णयलाई निर्वाचन आयोगले वैधानिकता दिएको थियो । सो निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत पुगे पनि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि थापाको नेतृत्व सुरक्षित बनेको छ । मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले देउवा समूहका तर्फबाट दायर मागदाबी खारेज गरेसँगै थापा थप बलियो देखिएका छन् ।

    यस निर्वाचनमा कांग्रेसले थापालाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै आएको छ। यस क्षेत्रको चुनाव जित्नु उनको राजनीतिक यात्राका लागि अनिवार्य जस्तो देखिन्छ। यसैबीच, कांग्रेसका पूर्वनेता डा. अमरेश कुमार सिंह, एमालेबाट अमनिश कुमार यादव, र नेकपाबाट राजनीश राय यादव पनि उम्मेदवार रहेका छन्। कुल ३९ उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्, जसमा २६ स्वतन्त्र उम्मेदवार पनि छन्।

    २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा डा. सिंहले २० हजार १७ मत ल्याएर जित हासिल गरेका थिए । त्यस बेला कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए भने स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरेकी थिइन् । त्यस बेला कांग्रेशले सिंहलाई टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए। उनि यस पटक रास्वपाबाट चुनाव लड्दै छन् । यसले देखाउँछ कि सर्लाही–४ मा चुनाव परिणाम अत्यन्तै प्रतिस्पर्धात्मक हुने सम्भावना छ।

    सर्लाही–४ अन्तर्गत बरहथवा नगरपालिकाका वडा नम्बर १, २, ३, ४, १३, १४ र १५, बसबरिया गाउँपालिकाका वडा नम्बर १, २ र ३, धनकौल, रामनगर गाउँपालिका, बलरा, गोडैता नगरपालिका तथा विष्णु गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ पर्दछन् ।

    प्रभावशाली उम्मेदवार, विगतको प्रतिस्पर्धी नतिजा र राष्ट्रिय राजनीतिक अर्थ जोडिएकाले सर्लाही – ४ को चुनाव यस पटक निकै रोचक र निर्णायक बन्ने देखिएको छ ।

  • सम्बन्धित विषय:

  • # गगनकुमार थापा
  • # डा. अमरेश कुमार सिंह
  • # सर्लाही–४