काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ। विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारी दर्तादेखी प्रचार–प्रसारसम्म सक्रिय देखिएका छन् भने मतदाता पनि आफ्नो मतको प्रभावबारे गम्भीर छलफलमा जुटेका छन्।
यही सन्दर्भमा चितवन निर्वाचन क्षेत्र नं ३ यसपटक सबैभन्दा धेरै चासोको केन्द्र बनेको छ। यहाँ नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमबीच कडा र रोचक प्रतिस्पर्धा हुदैँछ । यस क्षेत्रबाट अघिल्लो निर्वाचनमा राप्रपाका विक्रम पाण्डे विजयी भएका थिए।
चितवन–३ लाई राजनीतिक रूपमा प्रभावशाली क्षेत्रका रूपमा लिइन्छ। विगतका निर्वाचन परिणामहरूले पनि यो क्षेत्र निर्णायक र प्रतिस्पर्धात्मक रहेको देखाएका छन्। यसपटक अनुभवी नेतृ र नयाँ राजनीतिक धारको प्रतिनिधित्व गर्ने उम्मेदवारबीचको भिडन्त भएकाले चुनाव थप चाखलाग्दो बनेको छ।
रेनु दाहाल स्थानीय तहको राजनीति हुँदै राष्ट्रिय राजनीतिमा प्रभाव जमाएकी नेतृ हुन्। उनी भरतपुर महानगरपालिकाको मेयरको रूपमा दुई कार्यकाल सेवा गरिसकेकी अनुभवी राजनीतिज्ञ हुन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएपछि उनले महानगरको पूर्वाधार विकास, सडक विस्तार लगायत विभिन्न योजना कार्यान्वयन गरेकी थिइन्। दोस्रो कार्यकालमा पनि उनले दीर्घकालीन विकास योजनालाई निरन्तरता दिँदै स्मार्ट सिटी अवधारणातर्फ महानगरलाई अगाडी बढाउँदै आएकी थिइन् ।
दाहालको राजनीतिक शक्ति भनेको स्थानीय जनतासँगको प्रत्यक्ष सम्पर्क, विकास परियोजनामा देखिएको सक्रियता र प्रशासनिक अनुभव हो। निर्वाचनमा सक्रिय भएसँगै उनले घरदैलो अभियान, जनसभा र मतदाता संवाद कार्यक्रमलाई व्यापक बनाएकी छन्।
यता राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेतृका रूपमा परिचित छिन्। उनी राष्ट्रिय राजनीतिमा उदाउँदै गरेकी प्रभावशाली युवानेतृमध्ये एक मानिन्छिन्। यसअघि काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई संघीय संसदमा सक्रिय भूमिका निर्वाह गरेकी गौतमले सुशासन, पारदर्शिता, भ्रष्टाचारविरोधी अभियान र नागरिक अधिकारका मुद्दामा स्पष्ट धारणा राख्दै आएकी छन्।
चितवन–३ मा उम्मेदवारी दिएपछि सोबिता गौतमले युवा, मध्यम वर्ग र परिवर्तन चाहने मतदातालाई लक्षित गर्दै चुनावी अभियान चलाइरहेकी छन्। उनले ‘पुरानो राजनीतिक संस्कारको अन्त्य र नयाँ सोचको सुरुवात’ भन्ने नारासहित मतदाता भेटघाट, सामाजिक सञ्जाल अभियान र सार्वजनिक बहसलाई प्राथमिकता दिएकी छन्। विशेषगरी युवा मतदाता र शिक्षित वर्गमा उनको प्रभाव बढ्दो देखिन्छ।
राजनीतिक विश्लेषकहरूका अनुसार चितवन–३ मा यसपटक प्रतिस्पर्धा केवल व्यक्तिबीच मात्र नभई दुई फरक राजनीतिक धारबीचको टक्करका रूपमा हेरिएको छ। एकातिर अनुभव र स्थायित्वको पक्षमा उभिएकी रेनु दाहाल छन् भने अर्कोतिर परिवर्तन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको एजेन्डा बोकेकी सोबिता गौतम मैदानमा छिन्। दाहालका लागि संसदीय यात्रा नयाँ हुनेछ भने गौतमले यसअघि नै संघीय संसदमा प्रतिनिधिसभा सदस्यका रूपमा अनुभव बटुलिसकेकी छिन्।
समग्रमा चितवन–३ को चुनाव एउटा क्षेत्रको प्रतिनिधि चयन मात्र नभई राष्ट्रिय राजनीतिमा कुन धार बलियो हुन्छ भन्ने संकेत दिने प्रतिस्पर्धा बनेको छ। अनुभवी नेतृत्वलाई निरन्तरता दिने कि नयाँ राजनीतिक शक्तिलाई अवसर दिने भन्ने निर्णय अब मतदाताको हातमा छ। फागुन २१ गतेको मतदानपछि चितवन–३ को नतिजाले देशको राजनीतिक दिशालाई पनि केही हदसम्म संकेत गर्ने अपेक्षा गरिएको छ।
चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत माडी नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र ९ पर्दछन् भने भरतपुर महानगरपालिकाका वडा नं. ६, ७, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ समावेश छन्।



