शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सडकको विद्रोहबाट संसदको यात्रा:समृद्ध बागलुङको सपना बोकेर सोम शर्मा चुनावी मैदानमा

एक्सप्रेस पाना
माघ ८, २०८२ बिहीबार
  • 186
    SHARES
  • सडकको विद्रोहबाट संसदको यात्रा:समृद्ध बागलुङको सपना बोकेर सोम शर्मा चुनावी मैदानमा

    काठमाडौं । नेपाली राजनीतिमा जेनजी पुस्ताको एउटा सशक्त हस्तक्षेप सुरु भएको छ । सडक आन्दोलनको राप–तापबाट उदाएका युवा अभियन्ता सोम शर्माले अब संसदीय राजनीतिमार्फत अवस्था बदल्ने उद्घोष गरिसकेका छन् ।

    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शर्मालाई बागलुङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेसँगै जिल्लाको चुनावी सरगर्मी थप चुलिएको छ ।

    गत भदौ २३ र २४ गते सम्पन्न ऐतिहासिक जेनजी आन्दोलनका क्रममा सडकको अग्रपंक्तिमा उभिएका शर्मा ती अभियन्ता हुन्, जसले परिवर्तनको खोजीमा आफ्नै शरीरमा गोली थापे। खुट्टामा गोली लागेर पनि नडगमगाएका तिनै विद्रोही तन्नेरी अब सडकको आवाज संसद्को रोस्ट्रमसम्म पुर्‍याउने संकल्पका साथ चुनावी मैदानमा उत्रिएका छन्।

    images

    ‘जित्न सक्ने’ होइन, ‘जित्नुपर्ने’ क्षेत्रको रोजाइ
    राजनीतिक हिसाबले बागलुङ क्षेत्र नं. १ शर्मा लागि तुलनात्मक रूपमा सहज मानिन्थ्यो । तर रास्वपा सभापति रवि लामिछानेसँगको एउटा संवादले उनको राजनीतिक यात्राको दिशा नै मोडिदियो।

    सामाजिक सञ्जालमा उल्लेख गरेअनुसार सभापति लामिछानेले शर्मालाई प्रश्न गरेका थिए,
    ‘सोम, तिम्रो जिल्लामा राज्यको पहुँच सबैभन्दा कमजोर रहेको क्षेत्र कुन हो ?’ शर्माले बागलुङ क्षेत्र नं. २ को नाम लिँदा लामिछानेको जवाफ थियो,‘त्यसो भए तिमी ‘जित्न सक्ने’ ठाउँ होइन, ‘जित्नुपर्ने’ ठाउँमा जानुपर्छ। जहाँ तिम्रो आवाजको प्रतीक्षामा धेरै अनुहार छन्।’

    यही संवादले शर्मालाई गलकोट, ढोरपाटन, वडिगाड, निसी, तमान र ताराखोला जस्ता भौगोलिक रूपमा चुनौतीपूर्ण मानिएका बस्तीहरूमा पुगेर राजनीतिक अभियान विस्तार गर्न प्रेरित गर्यो ।

    आन्दोलनको घाउ र संसद् प्रवेशको कसम
    शर्माका लागि उम्मेदवारी केवल पद प्राप्तिको आकांक्षा होइन, आन्दोलनका क्रममा गुमाएका साथीहरूको सपना पूरा गर्ने कसम पनि हो। आन्दोलनका क्रममा आफ्नै काखमा अन्तिम सास फेरेका सुलभ राज श्रेष्ठको रगतले लतपतिएको दृश्य आज पनि उनलाई झकझक्याइरहन्छ।

    ‘मैले सुलभको रगतले भिजेको टाउको समातेर दुईवटा कसम खाएको थिएँ– तिम्रो हत्यारालाई कठघरामा ल्याउँछु र जुन सपनाका लागि तिमी लड्यौ, त्यो पूरा गर्न संसद् छिर्छु,’ शर्मा भावुक हुँदै भन्छन् ।

    उनको बुझाइमा बागलुङ–२ लाई दशकौँदेखि ‘विकट’ र ‘दुर्गम’को ट्याग लगाएर राजनीतिक प्रयोग गरिएको छ। यसपटक उनी त्यो भाष्यलाई सदाका लागि अन्त्य गर्न चाहन्छन्।

    ‘म यहाँ भोट माग्न मात्र आएको होइन। यो भूगोलमाथि जबर्जस्ती लादिएको ‘विकट’को परिचय चिर्न र जनताको आँसुमाथि राजनीति गर्ने प्रवृत्तिको अन्त्य गर्न आएको हुँ,’ शर्मा भन्छन्।

    सामाजिक सेवामा पनि सक्रिय अभियन्ता
    सडकमा प्रश्न उठाउने मात्र होइन, गाउँ–बस्तीमा पुगेर सेवा गर्ने स्वभावले पनि शर्मा फरक देखिन्छन्। हालै उनले बागलुङका विभिन्न सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीहरूलाई कापी, कलम, पुस्तक र झोला वितरण गरेका छन्।

    अधिकारको आवाज बुलन्द गर्दा उनले कयौँपटक हिरासत र कारागारको अनुभव पनि भोगेका छन्। सामाजिक अभियन्ता तथा भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय शर्मा समाजका विकृति र विसंगतिविरुद्ध निर्भीक रूपमा आवाज उठाउने पात्रका रूपमा चिनिन्छन्।

    राष्ट्रप्रेम, साहस र निष्ठाका कारण युवापुस्ताका लागि प्रेरणाका स्रोत मानिएका शर्मा न्याय र सत्यको पक्षमा अडिग रहने एक उदाहरणीय राजनीतिक अनुहारका रूपमा उदाइरहेका छन्। 

    बागलुङ–२ परम्परागत रूपमा स्थापित दलहरूको प्रभाव रहेको क्षेत्र हो। त्यस्तो क्षेत्रमा जेनजी आन्दोलनबाट आएका उम्मेदवारले भावनात्मक समर्थनलाई मतमा रूपान्तरण गर्न सक्ने कि नसक्ने भन्ने नै मुख्य चुनौती हो। शर्माको उम्मेदवारी बागलुङ–२ मा केवल चुनावी प्रतिस्पर्धा होइन। सडकको राप संसद्को बहसमा रूपान्तरण हुन सक्छ कि सक्दैन, यसको फैसला अब मतदाताले गर्नेछन्।

  • सम्बन्धित विषय:

  • # सोम शर्मा
  • # जेनजी पुस्ता