काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी स्वतन्त्र रूपमा अघि बढिरहेको बताएका छन्। पूर्वी नेपाल भ्रमणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशका विभिन्न स्थानमा पार्टीले आफ्नै ढंगले संगठन विस्तार गरिरहेको जानकारी दिएका हुन् ।
उनले भने, देशका विभिन्न ठाउँमा उज्यालो नेपाल पार्टी स्वतन्त्र हिसाबले अगाडि बढिरहेको छ । हामी स्वतन्त्र हिसाबले अगाडि बढेका छौं । अब उज्यालो नेपाल पार्टी आफ्नो हिसाबले एकमत भएर निरन्तर अगाडि बढ्नेछ । सहकार्य भनेको अहिलेको लागि सम्भव छैन । अब कुनैपनि बेलामा राजनीतिक पार्टीबीच सहकार्य हुनसक्छ ।’
अध्यक्ष घिसिङले आफ्नो पार्टी अन्य दललाई आलोचना गरेर अघि बढ्ने पक्षमा नरहेको स्पष्ट पारे । ‘हामी कसैलाई गाली गर्ने र कुनै पार्टीलाई तल राखेर माथि आउने पार्टी होइनौं । हामी समान अस्तित्वमा उभिनुपर्छ भन्ने मान्यताका साथ अघि बढेका छौं,’ उनले भने ।
उनले पार्टीलाई संगठनात्मक रूपमा सुदृढ बनाउँदै जनतामाझ आफ्ना एजेन्डा स्थापित गर्ने अभियान जारी रहने पनि बताए । पूर्वी नेपालको भ्रमणमा रहेका घिसिङ झापाको काँकडभिट्टा, विर्तामोड, दमक हँदै सुनसरी आउने कार्यक्रम छ ।



