काठमाडौं । आगामी निर्वाचनको तयारी र हिमाली जिल्लाहरूको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री सुशीला कार्की शुक्रबार ताप्लेजुङ पुगेकी छन्।
सो क्रममा उनले पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरूसँग अन्तरक्रिया गरेकी हुन् । बिहानै प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेपछि उनले त्यहाँ उपस्थित स्थानीयवासी तथा विभिन्न क्षेत्रबाट आएका दर्शनार्थीहरूसँग संवाद गरिन्।
अन्तरक्रियाका क्रममा उनले भनिन्, “म यहाँ निर्वाचन सफल बनाउन आग्रह गर्न आएकी हुँ। तपाईंहरू सबैले मतदानमा सहभागी हुनुपर्छ। चुनावलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गरिदिनुहोस्। यसपटकको चुनाव सामान्य नियमित प्रक्रिया मात्र होइन, विशेष परिस्थितिमा हुन लागेको महत्वपूर्ण अवसर हो। यसले देशलाई निकास दिनुपर्छ र राष्ट्रको भविष्य निर्धारण गर्ने आधार बन्नुपर्छ।”
प्रधानमन्त्री कार्कीलाई पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे, पुजारी डिल्लीरमण पौडेललगायतले स्वागत गरेका थिए । पाथीभराबाट आजै प्रधानमन्त्री कार्की ताप्लेजुङको सदरमुकाम फुङलिङमा सरकारी अधिकारीहरुसँग छलफल गरिन् ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ, नेपाली सेनाको दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठकलगायतले निर्वाचन तयारी र सुरक्षा अवस्थाका बारेमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराए ।
प्रमुख जिल्ला अधिकारी सेढाईँका अनुसार, ९० हजार ३२७ मतदाता र एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा २ अस्थायीसहित ८२ मतदानस्थल तोकिएको छ । यीमध्ये चारवटा मतदानस्थल भौगोलिक रुपमा विकट र हिमाली क्षेत्र रहेका छन् । अहिलेसम्म मौसम सामान्य रहेको र खासै प्रतिकूलता नरहेको भएपनि हिमपात भएमा मतदानका लागि कर्मचारी आवतजावत गर्न कठिन हुनसक्ने उनको भनाइ थियो । साथै मतपेटिका हेलिकप्टरबाट ओसार्ने व्यवस्थाका लागि उनले अनुरोध पनि गरे ।
अहिलेसम्म सुरक्षा अवस्था सामान्य रहेको, कुनै अप्रिय घटना नभएको र चारवटै सुरक्षा निकायबीच चुस्त समन्वय रहेका कारण आगामी दिनमा अझै सहज ढंगले निर्वाचन गतिविधि सम्पन्न गर्न सकिनेमा आफूहरु ढुक्क रहेको पनि उनले बताए ।
उक्त छलफलको समापनमा प्रधानमन्त्री कार्कीले यो निर्वाचन शान्ति, सुरक्षा, स्वच्छता र मितव्ययिता सबै कोणबाट भविष्यका लागि मानक बन्ने गरी काम गर्न निर्देशन दिइन् ।



