शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बालेन शाहले सार्वजनिक गरे आफ्नो घोषणापत्र,भ्रष्टाचारविरुद्ध अग्रपंक्तिमा उभिने प्रतिबद्धता

एक्सप्रेस पाना
फाल्गुण ११, २०८२ सोमबार
  • 114
    SHARES
  • बालेन शाहले सार्वजनिक गरे आफ्नो घोषणापत्र,भ्रष्टाचारविरुद्ध अग्रपंक्तिमा उभिने प्रतिबद्धता

    काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्।

    images

    घोषणापत्र सार्वजनिक गर्दै उनले संघीय सांसदको हैसियतले बेथिति र भ्रष्टाचारविरुद्ध संसदको अग्रपंक्तिमा उभिने प्रतिबद्धता व्यक्त गरे। राष्ट्रिय नीति तथा बजेटमा झापा–५ का विकासका मुद्दा सशक्त रूपमा उठाउने र सम्बन्धित मन्त्रालयसँग समन्वय गरी संघ, प्रदेश तथा स्थानीय तहका विकास योजनाको प्रभावकारी अनुगमन गर्ने उनको योजना छ।

    उनले स्थानीय जनताको समस्या र आवाज संसदमा निरन्तर रूपमा प्रस्तुत गर्ने, नेपाल सरकार र जेनजीबीच भएका सम्झौताको पूर्ण, पारदर्शी र समयमै कार्यान्वयन सुनिश्चित गर्ने तथा स्थानीय र प्रदेश सरकारका योजनाहरू संघीय तहबाट छिटो, सहज र परिणाममुखी रूपमा कार्यान्वयन हुने वातावरण सिर्जना गर्ने उल्लेख गरेका छन्।

    images

    बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचा पत्र २०८२ – थिति बसाल्ने सङ्कल्प’ कार्यान्वयनको नेतृत्व गर्ने प्रतिबद्धता जनाए। नेपालको संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरणजस्ता आधारभूत आवश्यकताहरू सबै नागरिकसम्म व्यवहारिक रूपमा पुर्‍याउन आवश्यक कानुन, बजेट तथा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने र राष्ट्रहितविपरीत कुनै पनि सम्झौता नगर्ने अठोट उनले व्यक्त गरे।

    झापा–५ मा व्यवस्थित संसद सचिवालय स्थापना गरी स्थानीय सरोकार सम्बोधन गर्ने, सेवा, इमानदारी र परिणाममा आधारित राजनीति गर्ने तथा गरिब र विपन्न परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्ने उनको प्रतिबद्धता छ। काठमाडौं महानगरपालिकामा लागू भएको ‘शिक्षामा सीप’ कार्यक्रम झापा–५ मा पनि कार्यान्वयन गरी विद्यार्थीको विदेशिने बाध्यता न्यूनीकरण गरिने उनले बताए। साथै, गौरीगञ्जस्थित ऐतिहासिक त्रिभुवन पुस्तकालय पुनर्निर्माण गरी डिजिटल अध्ययन–अनुसन्धान केन्द्रका रूपमा सञ्चालन गरिने उल्लेख छ।

    पूर्वाधारतर्फ दमक–रवि–चिसापानी सडक यथाशीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याइने, ‘हाम्रो रंगशाला, हाम्रै पहिचान’ अभियानअन्तर्गत आदिवासी जनजातिको संस्कृति र इतिहास झल्किने ‘आदिवासी जनजाति रंगशाला’ निर्माण गरिने तथा विराट बुद्ध पार्कको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरिएको छ।

    कृषि तथा रोजगारी क्षेत्रमा कन्काई–रतुवा सिँचाइ योजना विस्तार, लिफ्ट सिँचाइ प्रविधिको प्रयोगबाट कृषियोग्य जमिनको उपयोगिता वृद्धि, प्रत्येक पालिकामा ‘श्रम बैंक’ अवधारणा लागू तथा कोल्ड स्टोर र ड्रायरसहितको ‘गौरादह कृषि भण्डारण केन्द्र’ स्थापना गरिने योजना छ।

    महिलाले आमाको नामबाट नागरिकता लिँदा हुने झन्झटिलो प्रक्रिया सरल बनाइने, महिलालाई कृषि क्षेत्रमा प्रोत्साहन गर्न ‘महिला कृषि कर्जा कार्यक्रम’मार्फत सहुलियत दरमा वित्तीय पहुँच सुनिश्चित गरिने तथा सीपमूलक तालिममार्फत अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई लक्षित रोजगारी प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने उनले बताए।

    पर्यटन तथा उद्योगतर्फ गौरीगञ्ज भन्सारलाई व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन गरिने तथा सीमावर्ती पर्यटन विकास योजना कार्यान्वयन गरिने प्रतिबद्धता जनाइएको छ।

    खेलकुद क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी र प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसहित बहुआयामिक खेलकुद एकेडेमी निर्माण, दमक गोल्डकपलाई व्यवसायिक तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन र खुला खेल मैदानको संरक्षण तथा स्तरोन्नति गरिने उल्लेख छ।

    स्वास्थ्य क्षेत्रमा गरिब तथा विपन्न परिवारको उपचारको अधिकार सुनिश्चित गरिने, अस्पतालमा आउने विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कुल शैयाको १० प्रतिशत निःशुल्क छुट्याउने कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरिने तथा दमक अस्पताललाई पहिलो चरणमा ३०० शैयाको अस्पतालका रूपमा स्तरोन्नति गरिने प्रतिबद्धता उनको घोषणापत्रमा समावेश छ।

  • सम्बन्धित विषय:

  • # बालेन शाह
  • # घोषणापत्र